Image and video hosting by TinyPic

कलबाइपासमा वर्ल्डलिंक


नेपाल टेलिकमलाई करोडौं घाटा हुने गरी भ्वाई ओभर इन्टरनेट प्रोटोकर (भिओआईपी) को धन्दामा इन्टरनेट कम्पनीहरुको नै संलग्नता रहेको धमाधम खुल्न थालेको छ। तर ती कम्पनीलाई कारबाहीको सट्टा प्रहरी र सम्पत्ति शुद्धिकरण विभागले उनीहरुबाट आर्थिक लाभ लिई संरक्षण दिएका छन्।
हालसम्म वर्ल्ड लिंक, ग्लोबल नेट, नेट प्लस र इष्ट लिंक गरी चार वटा कम्पनीका इन्टरनेट सेवा प्रदायक कम्पनीको वर्ल्डलिंगको संलग्नता भेटिएको छ। तर वर्ल्ड लिंग बाहेक अन्य तीनै वटा कम्पनीका संचालकलाई प्रहरीले पक्राउ गरी कारबाही गरेपछि वर्ल्ड लिंकका संचालमाथि भने कारबाही गर्ने हिम्मत गरेको छैन। सो कम्पनीका संचालक सभासद् विश्वनाथ अग्रवाल रहेको र राजनीतिक सोर्सफोर्सको आधारमा उनलाई प्रहरीले कारबाही नगरेको स्रोत बताउँछ।
प्रहरीले नेट प्लसका संचालक राकेश गिरीलाई पक्राउ गरी मुद्दा चलाएको थियो। त्यसैगरी ग्लोबल नेटका संचालक भोलाकिशोर डंगोललाई पनि प्रहरीले इन्टरपोलबाट खोजी जारी राखी कम्पनीलाई बन्द गर्नै प्रक्रिया अघि बढाइसकेको छ।  त्यसैगरी इष्ट लिंकका संस्थापक सुदीपबाबु श्रेष्ठ गत साता मात्र पक्राउ परेका थिए। तर वर्ल्डलिंकको फाइल भने प्रहरीले अनुसन्धानका लागि भनेर सम्पत्ति शुद्धिकरण अनुसन्ध्ाान विभागमा पठाएर संचालकलाई 'सफाई' दिएको छ।
स्रोतका अनुसार विभागका कर्मचारीसँग वर्ल्डलिङकका कर्मचारीसँग सेटिङ मिलाई सफाई दिने तयारी गरेका छन्। अवैध रुपमा कल बाइपसमा चर्चित इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंग कम्यूनिकेसनको पनि संलग्नताको प्रष्ट प्रमाण  भेटिएपनि कारबाही नगरिएको स्रोतको भनाई छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पनि वर्ल्ड लिंकको बारेमा अनुसन्धान गरेको थियो। तर उसले पनि संचालकलाई पक्राउ गर्न सकेन। उसले  वर्ल्डलिंगका तीन संचालक विजय जालान, मनोजकुमार अग्रवाल र दिलिप अग्रवालमाथि छानबिन गर्न शुद्धिकरण विभागमा फाइल पठाएको थियो। कल बाइपासमा गिरोहसँग पनि सम्पर्क देखिएको र पछिल्लो पाँच वर्षमा उनीहरुको  सम्पत्ति पनि आश्चर्यजनक रुपमा बढेको देखिएपछि सम्पत्ति छानबिन शुरु गरिएको थियो।
प्रहरी स्रोतका अनुसार कम्पनी खासै नाफामा नदेखिएपनि तीनै जना संचालकको सम्पत्ति भने ह्वात्तै बढेको देखिन्छ। जुन सम्पत्ति उनीहरुले कल बाइपास भन्दाबाट कमाएका थिए। संचालक विजय जलानको मात्र दुई वटा घर, ललितपुरको संैबुमा झन्डै १० रोपनी जग्गा छ। श्रीमती अनुपा भण्डारी जलानको नाममा समेत करोडौंको सम्पत्ति राखेका छन्। महोत्तरी सातधुरमा करिब ६ बिघा मात्र पुख्यौली जग्गा रहेकोमा २०६० सालयता ठूलो परिणाममा उनले सम्पत्ति जोडेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु बताउँछन्।
शंकास्पद रुपमा उनले २०६४ र ६५ सालमा ललितपुरमा जग्गा किनेको पाइन्छ। २०६४, ७ भदौमा सैंबु ९  ललितपुरमा एक रोपनी ६ आना, चैत ११ गते ११ आना, २०६५, २५ बैशाखमा एक रोपनी पाँच आना र ९ भदौमा एक रोपनी नौ आना जग्गा खरिद गरेको देखिन्छ।  कम्पनीको आम्दानी खासै देखिन्न तर जग्गा भने एक महिनामै धेरैचोटी किनेको देखिन्छ। जालानको शेयर रहेको कम्पनी मात्र सात वटाभन्दा बढी छन्। एसीसी बैंकमा एक हजार ६ सय  र एसबीआईमा आठ सय कित्ता शेयर उनको छ। त्यसैगरी एडभान्स कलेज अफ इन्जिनियरिङ र स्टार अस्पतालका पनि उनी संचालक हुन्। सुन र हिरामा उनीहरुको  ३० लाखभन्दा बढीको  सम्पत्ति रहेको अनुसन्धानमा देखिन्छ। त्यसैगरी वल्डलिंकका अर्का संचालक मनोजकुमार अग्रवालको पनि स्वआर्जित सम्पत्ति अथाहा देखिएको छ। पुख्यौली सम्पत्तिको नाममा वीरगंजमा दुई तलाको घरमात्र रहेका अग्रवालले श्रीमतीको नाममा समेत धेरै सम्पत्ति जोडेका छन्। अग्रवाल २०६५ साल फागुन १९ गतेको मितिमा खोकनामा चार वटा गरी दुई रोपनी जग्गा किनेका छन्। त्यसैगरी सैबुमा उनको नाममा एक रोपनी पाँच आना जग्गा छ। २०६४ सालपछि उनको सम्पत्ति एक्कासी बढेको देखिन्छ। पचास तोला सुन तथा दर्जनौं बैंकमा आफ्नो बचत रहेको उनी आफैंले प्रहरीको आग्रहमा भरेको सम्पत्ति विवरण फारममा उल्लेख छ। उनको पनि एडभान्स कलेज अफ इन्जिनियरिङ र स्टार अस्पताकलमा लगानी छ।
वर्ल्डलिंंगका अर्का संचालक दिलिप अग्रवालपनि अन्य दुई संचालककै जस्तो २०६४ सालयता सम्पत्ति बढेको छ। २०६५ साल भदौ र असोज मात्र उनले ललितपुरको संैबुमा पाँच पटक जग्गा किनेका छन्। २०६५ असोज १५, १६, १७ र १८ गते गरी उनले लगातार जग्गा खरिद गरेका छन्।  सैंबुमा मात्र उनको श्रीमती बीना अग्रवालको नाममा ६ रोपनी भन्दा बढी जग्गा छ। त्यसैगरी सैंबुमा दिलिपकै नाममा पनि दुई रोपनी जग्गा देखिन्छ। रौतहटमा १० कठ्ठा पैतृक सम्पत्ति रहेको बताउने अग्रवालको पनि सम्पत्ति आश्चर्यरुपमा बढेको प्रहरी अधिकारीहरुको भनाइ छ। उनी नेपाल जनता दलका सभासद् विश्वनाथ अग्रवालका छोरा हुन्। अमेरिकामा समेत उनले बेटल कलेजमा ५५ हजार डलर र नेक्सट डिएनएसमा ९४ हजार डलर लगानी गरेका छन्। साउथ एसियन इन्चिच्यूट अफ मेनेजमेन्ट र एडभान्स कलेज अफ इन्जिनियरिङमा पनि उनको लगानी छ।

Source:- weeklynepal

!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!