Image and video hosting by TinyPic

बर्दिबासमा मैथली नाटक प्रदर्शन


कठ्याग्रिँदो चिसोमा हुलका हुल बच्चाहरु मञ्चको वरिपरि जम्मा भएका छन । उनिहरु मानौ कुनै नौलो जीवलाई हेर्न उत्सुक होऊन । उनिहरुको शान्ति र अनुशासन हेर्दा कुनै विद्वत सभामा जम्मा भएका विद्वानहरुको आभाष भईरहेको छ ।

उनिहरुको प्रतिक्षा समाप्त भयो । मिथिला नाट्यकला परिषद जनकपुरका कलाकार रविन्द्र झा मञ्चमा देखिए । उनका पेट गुदगुदाउने गतिविधि र अभिनयले वातावरणलाई अकस्मात हलुको वनायो । अब सबै बालवालिकाहरु पेट मिचिमिचि हाँस्दैछन । नाटकको हरेक ‘पञ्च’मा उनिहरुको हाँसोको विष्फोटनले वरपरका वयस्कहरुलाई पनि तान्दैछन । एकै छिनमा मञ्चको वरपर थाम्नै नसक्ने भिड जम्मा हुन्छ । उनिहरु प्रत्येक ‘मुभमेन्ट’मा थपडी बजाएर कलाकारहरुको हौसला बढाईरहेको छ ।
मिथिला नाट्यकला परिषद ‘मिनाप’ले महोत्तरीको बर्दिवासमा शनिवार प्रदर्शन गरेको मनोरञ्जनप्रधान नाटक ‘बुधियार छौंडा आ राक्षस’ अर्थात ‘चतुर केटो र राक्षस’ले बर्दिवासका बालबालिकालाई मात्र होईन की वयस्कहरुलाई पनि हँसाउँदै विभिन्न सन्देश पस्कन सफल हुन्छ ।

कलाकारहरुको जिवन्त अभिनय, मञ्च व्यवस्थापन, साजसज्जा र कुशल निर्देशनले नाटकलाई ‘वास्तविक’ बनाएको छ । रमेश रञ्जनको आलेख र अनिलचन्द्र झाको निर्देशन रहेको नाटक ‘बुधयार छौंडा र राक्षस’मा रविन्द्र झा, परमेश झा, रिना रिमाल र प्रियंका झाले अभिनय गरेका छन ।

संवाद भन्दा पनि क्रियाप्रधान रहेको यो नाटक शारीरिक गतिविधिले सन्देश सम्प्रेशन गर्ने हुँदा जुनसकै भाषाभाषी र जुनसुकै समूदायका व्यक्तिहरुले पनि राम्ररी बुझ्न सक्छन । नाटकमा एउटा बालक कसरी एउटा घटनाबाट उत्पे्ररित भई अफ्नो बुद्धिले राक्षसलाई मार्छ र राक्षसद्वारा अपहरित आफ्नो गाईलाई छुटाएर ल्याउँछ भन्ने घटनालाई देखाईएको छ ।

नेपालका लागि डेनमार्कको राजदुतावासको आर्थिक सहयोगमा पुर्वि तराईको विभन्न १५ स्थानमा प्रदर्शन भईरहेको यो नाटक रंगमञ्चको प्रबद्र्धन गर्ने उद्देश्यले तयार गरिएको मिनापका अध्यक्ष सुनील मल्लिकले बताए । दन्त्य कथामा आधारित यो नाटकमा बालबालिकालाई रंगमञ्चप्रति आकर्षित गर्न सरल कथावस्तु र सहज अभिनयकलाको प्रयोग गरिएको छ ।

नाटक हेरेकी स्थानीय विद्यालयमा कक्षा ५ मा पढ्ने मधु विश्वकर्मा फर्रर कथा सुनाईन । उनिमात्र नभई कक्षा ५ का मन्दिप विश्वकर्माले अझ नाटकको ‘शल्यक्रिया’ नै गर्न भ्याए । कक्षा ७ का रामबाबु महतोले नाटकमा प्रयोग गरिएका नाट्य सामग्रि र संगीतको व्याख्यान गर्दै थिए । छेऊमै उभेका प्रहरी जवान विजय ठकुरी कलाकारहरुको अभिनय र कथाको प्रभावको मुल्याङ्कन गर्दै थिए । मिथिला नाट्य कला परिषदले आफ्नो ४५ मिनेटको प्रस्तुतिबाट सबै वर्गका दर्शकलाई गफिन एउटा ‘मुद्दा’ प्रदान गरिसकेको थियो ।

यस अघि यो नाटकको महोत्तरीकै जलेश्वर र धनुषाको नगराईनमा प्रदर्शन भईसकेको छ भने सर्लाही, रौतहट, बारा, पर्सा तथा सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग र झापामा यो नाटक प्रदर्शन गरिनेछ ।

!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!