Image and video hosting by TinyPic

प्रधानमन्त्री भट्टराईको चामत्कारिक व्यक्तित्व खुइलिसक्यो : खनाल


नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले इतिहासकै जम्बो मन्त्रिमण्डल र भ्रष्ट मन्त्रीहरुको नेतृत्व गरेर प्रधानमन्त्री बाबुराम भटराईले नेपाली कम्युनिष्ट आन्दोलनको बद्‍नाम गरेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री भटराईको चामत्कारिक व्यक्तित्व खुइलिसकेको टिप्पणीसमेत गरे।पार्टी सुदृढिकरण तथा जनपरिचालन अभियान अर्न्तगत आइतबार धरानमा कोशी अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेलाको उद्‍घाटन समारोहलाई सम्बोधन गदै अध्यक्ष खनालले यस्तो आरोप लगाएका हुन्।
‘केही गर्ला कि भन्ने आशा भएको बाबुराम भटराईले पनि इतिहासकै जम्बो मन्त्रीमण्डल र भ्रष्टहरुको सरकार बनाए'-अध्यक्ष खनालले भने-‘मन्त्रीहरु विकास, निर्माणको योजनामा हाकाहाकी कमिसन माग्छन्, यस्तो जम्बो र भ्रष्टहरुको सरकारको नेतृत्व गरेर बाबुराम भटराईले नेपाली कम्युनिष्ट आन्दोलन र कम्युनिष्टहरुकै बद्‍नाम गरे।'
सात बुँदे सहमतिको अन्तिम बुँदा राष्ट्रिय सहमतिको सरकार बनाउने भएकोले पनि वर्तमान सरकार कामचलाउ सरकार भएको जिकिर गदै खनालले यो सरकारले महत्वपूर्ण विषयहरुमा निर्णय गर्न नसक्ने दाबी गरे।
‘सहमति बमोजिम राजनीतिक रुपमा यो सरकार कामचलाउ भइसकेको छ, त्यसैले यसले विपा सम्झौताजस्तो ठूलठूला र महत्वपूर्ण निर्णय कसरी गर्न सक्छ?'-उनले भने-‘राष्ट्रिय सहमतिको लागि अब भट्टराईले बाटो छाड्नुपर्छ।'
वर्तमान सरकारलाई निकम्माको संज्ञा दिदै उनले जनतालाई शान्ति सुरक्षा दिन नसकेको र भ्रष्टाचारलाई मौलाउने अवसर दिएकोले पनि भट्टराई सरकारको औचित्य सकिएको उनले बताए।
राजधानीमा दिनदहाडै सुनचाँदी व्यवसायी मारिएको र लमजुङ र कालिकोटमा दलित किसोरकिसोरीको हत्या भइरहेपनि सरकारले मौनता साधेको उनले आरोप लगाए।
‘शान्तिसुरक्षा दिन नसक्ने र भ्रष्टचार बढाउने यो निकम्मा सरकारको अब के काम?'-सरकारको कडा आलोचना गदै उनले भने।
वर्तमान सरकार शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउने र संविधान निर्माण गर्ने प्रतिवद्धताका साथ बनेको उल्लेख गदै एमाले अध्यक्ष खनालले अहिले भने सरकार ‘आउट अफ ट्रयाक' हुँदै गएको बताए। शान्ति र संविधान निर्माणको प्रतिवद्धता जनाएको भएपनि वर्तमान सरकार शान्तिप्रक्रिया टुंगोमा पुर्‍याउन र संविधान लेखनमा ढिलाइ गरिरहेको आशंका जताए। ‘स्वेच्छिक अवकाश रोजिसकेको लडाकुहरुलाई यो सरकार किन विदाइ गर्न सकिरहेको छैन?'-आक्रोशित हुँदै खनालले भने-‘समायोजनमा जाने इच्छा प्रकट गरेकोलाई पनि नेपाली सेनाको जिम्मा लगाएर मापदण्डवमोजिमका लडाकुलाई समायोजनामा लैजान सरकारले ढिलाई गरेर शान्तिप्रक्रियालाई नै अवरोध पुर्‍याइरहेको छ।' शान्तिप्रक्रियालाई टुंगोमा पुर्‍याउने क्रममा शिविरमा नभएका लडाकुहरुको नाममा निकासा भएको करोडौं रकम भ्रष्टाचार भएकोले त्यसको पनि सत्यतथ्य छानबिन हुनुपर्ने उनले माग गरे।
एकीकृत माओवादीले नेपाली समाजको प्रधानअन्तरविरोधको पहिचान र विश्लेषण गर्न नसकेको साथै कांग्रेसले पनि पूँजिपति वर्गको हितमा मात्रै ध्यान दिनेगरेकोले यी दुवै पार्टीबाट मुलुकको आमुल परिवर्तन सम्भव नभएको खनालको भनाई थियो। साथै, मधेशी मोर्चाले पनि मधेशका मुट्ठिभर जमिन्दारहरुको मात्रै प्रतिनिधित्व गर्ने भएकोले एमालेले मात्रै आमूल परिवर्तनको नेतृत्व गर्नसक्ने दाबी गरे।
एमालेले पार्टीमा एकताको सन्देश दिनको लागि घोषणा गरेको देशव्यापी सृदृढिकरण तथा जनपरिचालान अभियानको आइतबार धरानमा कोशी अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेला गदै उद्‍घाटन गरेको हो। दुई दिनसम्म हुने भेलामा कोशी अञ्चलभरिका करिब ५ सय अगुवा कार्यकर्ताहरु सहभागी छन्। भेलालाई एमाले केन्द्रीय अध्यक्ष झलनाथ खनाल, उपाध्यक्षद्धय विद्यादेवी भण्डारी, वामदेव गौतम, महासचिव इश्वर पोख्रेल र नेता केपी ओलीले प्रशिक्षणात्मक सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!